Facebook Twitter Google RSS

Friday, April 17, 2015

थापाको आज राजकीय अन्त्येष्टि

Unknown     2:37 AM  No comments

काठमाडौ, वैशाख ३ - 
सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गर्ने भएको छ । उनको भारतको नयाँदिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषद्को बिहीबारको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक बिदा दिने, सरकारी कार्यालय तथा कूटनीतिक नियोगमा एक दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पञ्चायत र प्रजातान्त्रिक कालमा गरी ५ पटक प्रधानमन्त्री भएका ८९ वर्षीय थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामै निधन भएको हो । ६ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।

उनको पार्थिव शरीर बिहीबार साँझ पौने ७ बजे इन्डियन एयरफोर्सको विशेष विमानबाट राजधानी ल्याइएको थियो । विमानस्थलमै श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, स्वास्थ्यमन्त्री खगराज अधिकारी गएका थिए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत पार्टी कार्यकार्ता र शुभेच्छुकहरू पनि विमानस्थल पुगेका थिए । विमानस्थलबाट थापाको शव श्रद्धाञ्जलिका लागि उनकै निवास मालीगाउँमा लगिएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जनाए । 

राप्रपाको बिहीबार बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरीरलाई शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी कार्यालय चाबहिल र दिउँसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलिका लागि राख्ने निर्णय गरेको छ । दशरथ रंगशालामा राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शवयात्रा सुरु हुनेछ । यसअघि निधन भएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई दिइएसरहकै राजकीय सम्मान थापालाई पनि दिइनेछ ।

१९८४ मा धनकुटाको मुगामा जन्मिएका थापा निरंकुश पञ्चायती र बहुदलीय प्रजातान्त्रिक दुवै व्यवस्थामा उत्तिकै चर्चित नेता हुन् । सत्ता परिवर्तनका बेलामा सधैं चर्चामा रहने थापालाई परिवर्तन स्वीकार्न सक्ने नेताका रूपमा धेरैले बुझ्ने गरेका छन् । पञ्चायती शासन ढल्नेबित्तिकै उनले राप्रपा पार्टी गठन गरी बहुदलीय अभ्यासमा लागेका थिए । उनी बहुदलकालमा ०५४ र ०६० मा प्रधानमन्त्री भए । थापाको पार्टी भने पटकपटक विभाजित भएको थियो । ०६२/६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा जाने तयारीमा लाग्दै गर्दा थापाले पनि त्यसलाई सहजै स्वीकार गरे । राजतन्त्र कि गणतन्त्र कुन बाटो लिने भन्ने निर्णय गर्ने बेलामा थापाले राजतन्त्रको मोह त्यागिदिए । त्यसैले पनि उनलाई धेरैले परिवर्तन स्वीकार्ने नेताका रूपमा सम्झिने गर्छन् । 

प्रधानमन्त्री सुशील कोइरालाले थापाको निधनमा बिहीबार शोक वक्तव्य जारी गर्दै एक महत्त्वाकांक्षी, साहसी, दृढ निश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमाएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री कोइरालाले थापाको निधनले 'आगामी दिनमा संविधान निर्माण गर्ने क्रममा थापाजस्ता अनुभवी राजनीतिज्ञको सुझावको अभाव खड्किइरहने' जनाएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायत नेताले पनि थापाको निधनप्रति दु:ख व्यक्त गरेका छन् । कांग्रेसका तर्फबाट मुख्यसचिव ऋषिकेश तिवारीले छुट्टै शोक वक्तव्य पनि जारी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पनि थापालाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रूपमा थापालाई चित्रण गरेका छन् । 'पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री भएर उहाँले आफ्नो विशिष्ट राजनीतिक हैसियत र नेतृत्व क्षमता मात्रै प्रदर्शन गर्नुभएन, आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रूपमा समेत स्थापित गर्नुभयो,' ओलीको शोक वक्तव्यमा छ, 'गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर उहाँले आफूलाई अन्तत: परिवर्तनको पक्षमा दृढतापूर्वक नै उभ्याउनुभयो ।' संविधानसभाबाट नयाँ संविधान जारी गरी ०६२/६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा थापाको निधनले मुलुकलाई नै गम्भीर क्षति पुगेको ओलीले उल्लेख गरेका छन् ।

राप्रपाको आकस्मिक बैठकले थापाको निधनले पार्टी मात्र नभई मुलुकलाई नै क्षति पुगेको निष्कर्ष निकालेको छ । विशेषगरी संक्रमणकालीन अवस्थामा उहाँको अभाव खडकिइरहने शोक व्यक्तव्यमा उल्लेख छ । राप्रपाले थापाको निधनमा १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने र ७५ वटै जिल्लामा शोक र श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको छ । एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सन्जालबाट थापाको निधनले एक युगको अन्त्य भएको उल्लेख गरेका छन् । संविधानसभाभित्र उनको अभाव सधैं रहिरहने भट्टराईले उल्लेख गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि शोक वक्तव्य जारी गर्दै थापाको निधनबाट मुलुकले उच्च व्यक्तित्व भएको अभिभावक गुमाएको उल्लेख गरेका छन् । 'परिस्थितिको सटिक विश्लेषण गर्ने, समयलाई सही ढंगबाट पहिचान गर्नसक्ने र आवश्यकताअनुसार निर्णय लिनसक्ने विचित्र क्षमता थियो,' अध्यक्ष थापाले भनेका छन् । 

पञ्चायतकालबाटै थापाका समकालीन राजनीतिज्ञहरू विश्वबन्धु थापा र पूर्वप्रधानमन्त्री चन्दले पनि उनको व्यक्तित्व र क्षमता अद्भुत रहेको टिप्पणी गरेका छन् । 'मेेरो मित्रवत् सम्बन्ध रहिरह्यो । जानेर बुझेर मात्र अघि बढ्ने उहाँको खुबी थियो,' ०१७ पुस १२ मा तत्कालीन राजा महेन्द्रको मन्त्रिपरिषद्मा सँगै मन्त्रीसमेत भएका विश्वबन्धु थापाले कान्तिपुरसँग भने । पूर्वप्रधानमन्त्री चन्दले पनि थापालाई कर्मठ राजनीतिज्ञका रूपमा चिनेेका/बुझेका छन् । 'प्रशासकीय अनुभव र व्यवहारिक ज्ञान दुवैले खारिएको व्यक्ति हुनुहुन्थ्यो,' चन्दले भने, 'त्यसैले उहाँ सधैं चर्चामा रहनुभयो ।'

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थापाको निधनप्रति दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon