Facebook Twitter Google RSS

Saturday, April 18, 2015

आज मातातीर्थ औँशी: यस्तो छ माइली आमाको जिन्दगी

Unknown     12:20 AM  No comments

आज मातातीर्थ औँशी: यस्तो छ माइली आमाको जिन्दगी
उमेर ९८को हाराहारीमा पुगेकी काठमाडौंको रामकोटमा बस्दै आएकी 'आमा' माइली परियार भन्छिन्, 'म दलित नभएको भए मेरो भर्खर जन्मिएको बच्चालाई सालनालबाट सकी-नसकी मैले अलग गर्नुपर्ने थिएन आफैं।
माइली आमाको जिन्दगी
उमेर ९८ हाराहारी। ९० सालको भुइँचालोमा उनी १७ वर्षकी थिइन्। काठमाडौंको रामकोटमा बस्दै आएकी माइली परियार सम्भवत: यस क्षेत्रकै ज्येष्ठ नागरिक र 'आमा' हुन्।
 
आफ्नै कोखबाट चार सन्तान जन्माइन् उनले। दलित हुनुलाई उनले सायद नियतिका रूपमा लिइन्। तर, यत्रो लामो जिन्दगीमा दुईपटकमात्र दलित हुनुको पीडाले छटपटिएकी छन् उनी।

चारपल्टको प्रसव वेदनाजस्तै पीडा उनले महसुस गर्ने गरेकी छन् अक्सर सार्वजनिक धाराहरूबाट पानी खेर जाँदा। 'दलित नभएको भए निर्धक्क भएर मैले त्यो धारा बन्द गर्न सक्थें, भरिएका गाग्रीको साटो रित्ता गाग्री थापिदिन सक्थें', साक्षात्कारमा उनले भनिन्।
 
अर्को पीडाको अनुभूति उनले दलित या 'अछूत' का रूपमा कम र आमाका रूपमा बढी गरेकी छन्। 'पहिलो बच्चा जन्मिनुपूर्व व्यथाले च्याप्दा मेरो सहारा मझेरीको थाममात्र बन्न पुग्यो। घरका लोग्नेमान्छेहरू काममा बाहिर, म एक्लै,' उनले भनिन्।
 
'बच्चा जन्मियो। तर नाल काट्न कोही आएन। म दलित नभएको भए मेरो भर्खर जन्मिएको बच्चालाई सालनालबाट सकी-नसकी मैले अलग गर्नुपर्ने थिएन आफैं।' यसपल्टको पीडा, आमाको पीडा थियो, आफूजस्तै जन्मैदेखि आफ्ना बच्चा पनि तिरस्कृत भएकोमा।
 
जातभातबाट विभाजित समाजमा अशिक्षित माइलीले अन्य अवसरमा भने त्यसलाई सामान्य व्यवहारकै रूपमा लिइन्। पीडाको अनुभूति गरिनन्। राणाशासन अन्त्य, प्रजातन्त्र स्थापना र यता आएर गणतन्त्र, अन्य छुवाछूत उन्मूलन कानुनले न उनको हौसला बढायो, न फरक व्यवहार नै पाइन् उनले समाजबाट।
 
समानतालाई आफ्नो हकका रूपमा लिने चेतना पनि रहेन उनीमा। अनगिन्ती विभेदको साक्षी र पात्र बनिन् तर विद्रोह गरिनन्। ईश्वरसँग यता आएर उनको गुनासो 'दलित' बनाएकोमा हैन, लामो र बेसहारा जिन्दगी दिएकोमा छ।
म दलित नभएको भए मेरो भर्खर जन्मिएको बच्चालाई सालनालबाट सकी-नसकी मैले अलग गर्नुपर्ने थिएन आफैं।' 
'किन दियौ यो लामो जीवन त्यसलाई धान्ने स्रोत तथा सहाराबिना?' सरकारले दिने गरेको मासिक पाँच सय रुपैयाँ भत्ता थाप्न दिन कुरेर बस्छिन् उनी।
 
अहिले पनि सामान्य हिँडडुल गर्न सक्षम माइली हरेक बिहान गाउँको पसलनजिकै चिया खान्छिन्। गिलास पखालेर आफ्नो थोत्रो थैलीको मुख खोलेर पैसा तिर्छिन्। 'लोकतन्त्र'ले दिएको समानता र कानुनले न उनलाई चेतना दियो, न निर्भीकता तथा अवज्ञाको शक्ति।
मुलुकमा अब राजा छैनन् भन्ने थाहा छैन उनलाई। उनले भोट दिएर जितेका राजाहरूबाट के अपेक्षा गर्ने, त्यो पनि थाहा छैन माइलीलाई। अन्य परिवर्तनबारे पनि खासै मेलो छैन।
 
मातातीर्थ औंसी। आमाको मुख हेर्ने दिन। उनलाई थाहा छैन उनका दुई भाइ छोरा उनको मुख हेर्न आउँछन् कि आउँदैनन्। ६-६ महिना पाल्ने सल्लाह उनीहरूबीच भए पनि त्यो पालना हुन सकेको छैन। नजिकैको सानो झुप्रोमा एक्लै काट्दैछिन् बाँकी दिन।
 
 'कहिलेकाहीं नातिनातिनाले केही खानेकुरा ल्याएर दिन्छन्। तर सधैं आस गर्ने अवस्था छैन', उनी भन्छिन्।
 
माइली परियार अब मुलुकमा ज्येष्ठ नागरिक, खासगरी प्रतिनिधि 'आमा' बन्न पुगेकी छन् उमेर र अनुभवका आधारमा। जिन्दगी अरूलाई दिएर र अरूको सेवासुश्रुषा गरेर बिते पनि उनलाई हेर्ने कोही छैन।
 
अरूको दयामा बाँचेकी छन् एउटी आमा। मातातीर्थ औंसीमा उनी दीर्घायु होऊन् भन्ने कामना गर्ने या वरदान माग्ने साहस छैन मेरो। 
 
खालि माइली परियारलाई, उनको संघर्षलाई र अपमान गर्नेहरूलाई सहजभावले बिर्सने उनको महानतालाई म 'नमन' गर्न चाहन्छु, एउटी नारीका रूपमा, आमाका रूपमा।
- See more at: http://annapurnapost.com/News.aspx/story/10538#sthash.lz1mB0Gl.g9wquWe2.dpuf

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon