Facebook Twitter Google RSS

Saturday, April 18, 2015

यस्तो छ गुराँस गाथा (फोटो फिचर)

Unknown     12:53 PM  No comments

माछापुच्छ्रे र अन्नपूर्ण हिमालमुन्तिरको लेक यतिखेर राताम्मे बनेको छ। हरियो बनपाखामा ढकमक्क ढाकिएका गुराँसले यस क्षेत्रको माहोल नै मनमोहक बनेको छ।
बनजंगल र बाटोभरि पोखिएका राताम्मे गुराँस देख्दा पर्यटकमात्रै होइन, चराचुरुंगी र मौरीहरू रमाइरहेका देखिन्छन्। सबैलाई लोभ्याउने भएकाले नै लालीगुराँस नेपालको राष्ट्रिय फूल भएको हो।
पदयात्राका लागि विश्वमै प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा फागुनदेखि वैशाखको अन्तिम सातासम्म ढकमक्क गुराँस फुल्छन्। 
त्यही रमाइलो गुराँस हेर्न मर्दी हिमाल, घान्दु्रक, घोडेपानी पदयात्रा मार्गमा स्वदेशी र विदेशीहरूको लस्कर भेटिन्छ। तीमध्ये कतिपय आगन्तुक अनेक प्रजातिका गुराँस अध्ययन गर्न आउने पनि छन्।
जर्मनकी जुलिया गुराँस हेर्न र रम्न यसपालि भाइ र बहिनीलाई लिएर कास्कीको मर्दी हिमालको पदयात्रामा आइन्। 'गुराँस देख्दा मनभरि खुसी फक्रियो', उनले भनिन्, 'दुई वर्षअघि पनि आएकी थिई, फेरि पनि आउनेछु।'
एउटै थलोमा अनेकताको आनन्द लिन पाइने यस क्षेत्रमा धेरैलाई गुराँसले लोभ्याउने गरेको छ। गुराँस हेर्न आन्तरिक पर्यटक बढी आउने स्थानीय पर्यटन व्यवसायी बताउँछन्।
वनस्पतिविज्ञ, विद्यार्थी, अनुसन्धानकर्ता सबैका लागि गुराँस उत्तिकै महत्त्वपूर्ण छ। मर्दी हिमालको पदयात्रामा भेटिएका विद्यार्थी बिजेन्द्र गिरीले गुराँस फुलेको देख्दा थकाइ बिर्सने बताए।
पोखराबाट तीन दिनमै गुराँसको घना जंगल भएको घान्द्रुक-घोडेपानी पदयात्रा गर्न सकिन्छ। पाँच दिनमा मर्दी हिमाल हेर्न सकिन्छ। 
पर्यटन व्यवस्थापन समिति घान्दु्रकका सचिव सुभास गुरुङले गुराँस हेर्न क्याम्पस पढ्ने विद्यार्थी आउने बताए। आजकल महिला समूह, सहकारी, उद्यमी व्यवसायी पनि गुराँस हेर्न आउने गरेका उनले जानकारी दिए।
अनेक आकर्षणले भरिपूर्ण गुराँसबारे धेरै गीत रचिएका छन्। प्रेमीहरूले मन परेकी मायालुको मुहार र मुस्कानलाई गुराँसको उपमा दिन्छन्।
स्वरस्रमाट् नारायणगोपालले गाएको 'म त लालीगुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु' भन्ने बोलको गीतले धेरैको मन जितेको छ। 
यसैगरी प्रकाश श्रेष्ठको 'तिमी लालीगुराँस फुलेजस्ती', कुन्ती मोक्तानले 'लालीगुराँस बनैभरि'जस्ता चर्चित गीतले गुराँसको बयान गरेका छन्।
गुराँस हेर्न र छुन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली आएको स्थानीय पर्यटन व्यवसायीले बताए। जापानी पर्यटकले भने निकै रुचाउने गरेका छन्। 
जापानी पर्यटकले गुराँस मन पराउने भएकाले यो सिजनमा बढी आउने गरेको उनले सुनाए। उनीहरूको देशमा साकुरा राष्ट्रिय फूल हो। गुराँस उनीहरूले साकुराभन्दा पनि बढी मन पराउने गुरुङले बताए। 
गुराँस १४ सय मिटरदेखि ३६ सय मिटरमाथिसम्म देख्न सकिन्छ। अन्नपूर्ण पदयात्रा क्षेत्रमा नौ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३० प्रजातिका गुराँस पाइन्छन्।
नेपालमा विश्वका अन्यत्र पाइनेभन्दा फरक प्रजातिका गुराँस पाइन्छ। नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा नौ प्रजातिका गुराँस पाइन्छ। सानो झाडीमा फुल्ने प्रजातिका समेत गरेर विश्वमा एक हजार २४ प्रजातिका गुराँस पाइन्छ। 
यहाँ पनि सानो झाडीमा फुल्ने प्रजातिका गुराँससमेत गणना गर्दा अझै धेरै प्रजातिका गुराँस नेपालमा पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत घान्द्रुकका प्रमुख पारसविक्रम सिंहले बताए। 
'गुराँसको निकै महत्त्व भए पनि संरक्षण अभावमा यो संकटमा पर्दै गएको छ। पदयात्रा क्षेत्रमा मोटरबाटो बनाउँदा, खाना पकाउन र आगो ताप्न दाउराका रूपमा प्रयोग गर्दा गुराँसको दाउरा प्रयोग गरिँदै आएको छ। 
व्यापक मात्रमा गुराँसको वन फँडानी भएपछि यसलाई जोगाउन विभिन्न निकाय जुटेका छन्। घोडेपानी र टाढापानी क्षेत्रमा बढी मात्रामा गुराँसका वन फँडानी भएको दस वर्षदेखि त्यस क्षेत्रको पदयात्रा गराउँदै आएका पथप्रदर्शक मनशान्त घिमिरेले बताए। 
'गुराँसको जंगल देख्नेबित्तिकै पर्यटकहरू दंग पर्दै फोटो खिच्न तम्सिन्छन्', उनले भने, 'सबैलाई लोभ्याउने गुराँसको महत्त्व नबुझ्दा धमाधम काठदाउराका रूपमा प्रयोग गरिँदैछ। वैकल्पिक ऊर्जाको व्यवस्था गरे वन फँडानी रोक्न सकिन्छ।'
दुई वर्ष अघिदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले गुराँसका रूख काट्नेलाई जरिवाना तिराउने गरी कडाइ गरेपछि भने केही सुधार आएको उनले सुनाए।
नेपालमा लालीगुराँस पदयात्राका लागि चर्चित पदयात्राहरू रहेका छन्। 
यस्ता मुख्य पदयात्रा मार्गमा लाङटाङ नेश्सनल पार्क, मकालु वरुण नेसनल पार्क, मिल्की डाँडा जलजला हिमाल, अपर तमोर रिभर भ्याली, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र काठमाडौंबाट दक्षिणतर्फको फूलचोकीमा गुराँसको वनजंगल छ। 
अन्नपूर्ण, माछापुच्छे्र, धौलागिरि, नीलगिरि, लमजुङ हिमाल, मनास्लुलगायतका हिमशंखला मुन्तिरका लेकमा थरीथरीका गुराँस पाइन्छ। हेर्नमात्रै होइन, गुणमा पनि गुराँसगाथा निकै महत्त्वको छ। यसको जुस खाने चलन छ।
- See more at: http://annapurnapost.com/News.aspx/story/10575#sthash.CdxE5nB1.dpuf

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon